पोखरा । विभागीय टिम एपीएफ क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
फाइनल पुग्ने क्रममा एपीएफले न्यु डाईमण्डलाई २५-२१, २५-२१ र २५-२३ को सेटमा पराजित गर्यो ।
अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।
न्यु डाईमण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
शुक्रबार नै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले पुलिसमाथि २६-२४, २५-२२ र २५-१४ को सेटमा जित निकालेको थियो ।
गण्डकीले एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
शुक्रबार नै गण्डकीले एपीएफलाई २५-२१, २९-२७ र २५-१५ ले पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।