एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् ।
महिलामाथि अभद्र टिप्पणी गरेपछि विवादमा तानिएका मोरीले शुक्रबार राजीनामा दिएका हुन् ।
जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
जुन अभिव्यक्तिको कारण उनले राजीनामा दिनु परेको हो ।
मोरीको अभिव्यक्ति लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै जापानमा आलोचना भएको थियो ।
८३ वर्षीय मोरीले आफ्नो अभिव्यक्तिप्रति माफी समेत मागेका छन् ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।