पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले पुलिसमाथि २६-२४, २५-२२ र २५-१४ को सेटमा जित निकाल्यो ।
अब आर्मीले उपाधिका लागि गण्डकी प्रदेशसँग खेल्नेछ ।
गण्डकी एपीएफलाई हराएर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।
शुक्रबार नै गण्डकीले एपीएफलाई २५-२१, २९-२७ र २५-१५ ले पराजित गरेको थियो ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।
प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।