पोखरा । होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डाईमण्डले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसविरुद्ध न्यु डाईमण्डले पहिलो सेट २७-२५ ले जितेको थियो । तर, दोस्रो सेटमा पुलिसले ३१-२९ को जित निकाल्यो ।
त्यसपछिको तेस्रो सेटमा २७-२५ र चौंथो सेट २५-१६ ले आफ्नो बनाउँदै न्यु डाईमण्डले लगातार दोस्रो जित निकाल्यो ।
यस जितसँगै न्यु डाईमण्डले २ खेलमा ५ अंक जोडेको छ । र, न्यु डाईमण्डले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
पुलिसको भने यो पहिलो हार हो । तर, पुलिस ३ खेलमा ६ अंक जोडेर फाइनलमा प्रवेश गरिसकेको छ ।
अब न्यु डाईमण्ड र एपीएफ मध्ये एक टिम फाइनल पुग्नेछ । न्यु डाईमण्ड र एपीएफबीचको खेल शुक्रबार हुनेछ ।
एपीएफले २ खेलमा २ अंक जोडेको छ ।
एपीएफले बिहीबार नै त्रिभुवन आर्मीमाथि १८-२५, २७-२५, २५-१७, २०-२५ र १५-७ को सेटमा जित निकालेको थियो ।
आर्मी भने लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।