पोखरा । विभागीय टिम एपीएफ क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित निकालेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
निकै रोमान्चक बनेको खेलमा एपीएफले आर्मीमाथि १८-२५, २७-२५, २५-१७, २०-२५ र १५-७ को सेटमा जित निकालेको हो ।
जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो ।
आर्मीको भने यो लगातार तेस्रो हार हो । यस हारसंगै ३ खेलमा २ अंक जोडेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।