काठमाडौं । भक्तपुरमा माघ ३० गते आयोजना हुने तय भएको 'हल अफ फेम' खुल्ला फुटसल प्रतियोगिता एक हप्ताका लागि सरेको छ ।
आवश्यक तयारी नपुगेको भन्दै आयोजक ख्वोपा फुटसल प्रालीले प्रतियोगिता सहितको कार्यक्रम एक हप्ताका लागि सारिएकाे जनाएकाे छ ।
'प्रतियोगितामा सहभागी हुने खेलाडी र क्लबको आग्रहलाई स्विकार गर्दै एक हप्ताका लागि कार्यक्रम सार्ने निर्णय गरेका छौं ।' संयोजक राम प्रजापतिले खेलपाटीसंग भने ।
स्थानीय खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्दै राष्ट्रिय स्तरको खेलकुदमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ ।
संयोजक प्रजापतिले हल अफ फेम सहितको फुटसलको नयाँ मिति फागुन ७ र ८ गतेका लागि तोकिएको बताए ।
स्थानीय खेलाडीलाई खेलकुदमा जोड्न र पुराना खेलाडी सहित राष्ट्रिय स्तरमा योगदान पुर्याएका खेलाडीलाई सम्मान गर्ने उद्धेश्यले आयोजकले हरेक वर्ष कार्यक्रमको आयोजना गर्दै आएको छ ।
भक्तपुरको ख्वोपा फुटसल लिबालीमा हुने फुटसलमा २४ टिम सहभागी हुने बताईएको छ ।
लिग कप नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ५० हजार र दोस्रो हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने ५ विधामा ब्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ ।
कोरोनाविरुद्धको लडाँईका नायकबाट एक जनालाई, वर्ष खेलाडीबाट एक पुरुष र एक महिला तथा एक लिजेण्ड खेलाडीलाई ‘हल अफ फेम प्लेयर अफ दी ईयर’बाट सम्मान गर्न लागिएको छ । कार्यक्रममा एक खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजक ख्वोपा फुटसल प्रालीले जनाएको छ ।