पोखरा । एपीएफ क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पुलिसमाथि २७-२५, २५-२०,२०-२५,९-२५ र १५-१० को सेटमा जित जित निकालेको हो ।
जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
पुलिसको यो पहिलो हार हो । पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई हराएको थियो ।
पुलिसले २ खेलमा ३ अंक जोडेको छ ।
बुधबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
पहिलो सेट २५-२२ ले आफ्नो बनाएपनि आर्मी स्तब्ध भएको हो ।
पुनरागमन जित निकाल्ने क्रममा गण्डकीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१८ र तेस्रो सेट २५-१७ ले आफ्नो बनाएको थियो ।
गण्डकीको यो पहिलो जित हो । जितसँगै गण्डकीले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा गण्डकी विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको छ ।
पुलिसले आर्मीमाथि १८-२५, २५-२२, २५-२३ र २५-१६ को सेटमा जित निकाल्यो ।
पुलिसको यो लगातार दोस्रो जित हो । आर्मीको भने दोस्रो हार हो ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।