पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो खेलमै पराजित भएको छ ।
उपाधि दाबेदार मानिएको आर्मी बुधबार भएकोखेलमा गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको हो ।
पोखरा रंगशालामा पहिलो सेट २५-२२ ले आफ्नो बनाएपनि आर्मी स्तब्ध भएको हो ।
विभागीय टिमविरुद्ध पुनरागमन जित निकाल्ने क्रममा गण्डकीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१८ र तेस्रो सेट २५-१७ ले आफ्नो बनायो ।
गण्डकीको यो पहिलो जित हो । जितसँगै गण्डकीले २ खेलमा ३ अंक जोडेको छ ।
पहिलो खेलमा गण्डकी विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।