पोखरा । पोखरा खेल क्षेत्रमा स्पोर्ट्सउड रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
पोखरामा टाइगर ग्रुपले आयोजना गरेको प्रथम टाइगर कप राष्ट्रिय महिला तथा पुरुष अन्तर क्लब भलिबल च्याम्पियनसिपको उद्घाटनमा बोल्दै मुख्यमन्त्री गुरुङले पोखरा ‘स्पोर्टसउड’ रहेको बताएका हुन् ।
पोखरामा सबै प्रकारका खेल खेलाउने वातावरण भएको बताउँदै उनले पोखरा स्पोर्टसउड भएको दाबी गरे ।
'पोखरा भलिउडमात्र हैन, सम्पूर्ण खेलको हब हुने भएकाले स्पोर्ट्सउड हो,’ उनले भने ।
गुरुङले आगामी वर्षबाट गण्डकी प्रदेशले खेलकुद क्षेत्रमा गति लिने दाबी समेत गरे ।
अहिलेको समयमा प्रदेश पूर्वाधार र कानूनको निर्माणमा अघि बढेकाले खेलकुदलाई प्राथमिकता नराखेको गुरुङको भनाइ छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पोखरालाई ‘भलिउड’ भनि चिनाइनु पर्ने बताएका थिए ।
उनले मुख्यमन्त्रीभन्दा अघि सम्बोधन गर्दै पोखरालाई भलिउडको ट्याग दिइनु पर्ने भनाई राखेका थिए ।
यस्तै कार्यक्रममा प्रतियोगिताबारे जानकारी दिँदै ग्रुपका सदस्य रामकृष्ण ज्ञवालीले गण्डकी प्रदेशको महिला टिम नभएकोमा दुख व्यक्त गरे ।
प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको महिला एवं पुरुष टिमको सहभागिता रहेको छ ।
त्यसबाहेक न्यू डाइमण्ड स्पोर्टस क्बलको महिला र गण्डकी प्रदेशको पुरुष टिमले सहभागिता जनाएका छन् ।