पोखरा । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा गण्डकी प्रदेश ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो ।
बलियो टिम पुलिसले गण्डकीविरुद्ध २७-२५, २५-२१ र २५-२२ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ३ अंक जोडेको छ । गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा पुलिसले एपीएफसँग खेल्नेछ ।
महिलातर्फ होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरिसकेका छन् ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।