धनगढी । दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको कैलाली अस्पतालले मुख्य प्रायोजन गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सोमबार मुख्य प्रायोजकको रुपमा कैलाली अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाबीच मुख्य प्रायोजन सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै चैत ६ गते आयोजना हुने अवार्डको नाम कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड रहनेछ ।
‘यस पटक कोरोना भाइरसको महामारीका कारण अवार्ड आयोजनामा कठिनाई भईरहेको वर्तमान अवस्थामा मुख्य प्रायोजकको साथले हामी हौसिएका छौं ।’ सम्झौता कार्यक्रमको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सीताराम ओझाले भने ।
कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अवार्डमा जोडिने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘कोरोना कहरमा पनि अवार्डले निरन्तरता पाउँनु निकै खुसीको खवर हो । यो अवार्डलाई सुदूरपश्चिमको पर्वको रुपमा आयोजना गर्न आवश्यक छ ।’
अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा बालरोग, मानसिक रोग, मुटुरोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।