काठमाडौं । प्रथम सराङ्गे छहारी भलिबल प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।
अशिम युथ क्लबको आयोजनामा पहिलो संस्करणको प्रतियोगिता चैत ३ बाट ७ गतेसम्म हुनेछ ।
प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा हुने आयोजक क्लबका अध्यक्ष लोक बिक्रम मल्लले खेलपाटीलाई जानकारी गराए ।
‘स्थानीय र दोस्रो स्तरका खेलाडीको आफ्नो क्षमता अभिबृद्धिका लागि पहिलो पटक प्रतियोगिता आयोजना गर्दैछौं,’ अध्यक्ष मल्ल भने ।
प्रतियोगितामा खुल्ला सहभागीता रहेको छ । प्रतियोगितामा सहभागी क्लबले टिम दर्ता ३ गते भित्र गरिसक्नुपर्नेछ भने टिम दर्ता शुल्क ७ हजार तोकिएको छ ।
‘खेलाडीलाई मान हैन सम्मान हो, खेलकुद शान होईन हाम्रो पहिचान हो’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्ने अध्यक्ष मल्लले बताए ।
प्रतियोगिताको उपविजेता टोलीले ६१ हजार १ सय ११ रुँपैया तथा तृतीय हुने टोलीले ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टररले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बिभाग तथा प्रदेश खेलेका खेलाडीले सहभागीता जनाउन नपाउने नियम रहेको खेल संयोजक अमृत केसीले खेलपाटीलाई बताए ।
फाइनल खेल अघि मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको अध्यक्ष मल्लले बताएका छन् । उनका अनुसार हास्यकलाकार तथा फिल्मकर्मी केदार घिमिरे (माग्नेबुढा)ले आफ्नो प्रस्तुती देखाउनेछन् ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा खेलपाटी डटकम रहेको छ ।