नेपालगन्ज । एफसी स्टारले प्रथम योगिनी खुला पुरुष अन्तर क्लब भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा शनिबार भएको फाइनलमा ध्रुवतारा बोर्डिङ स्कुललाई ३-० को सेटमा पराजित गर्दै एफसीले उपाधि उचालेको हो ।
उपाधि उचाल्ने क्रममा एफसीले ध्रुवतारालाई २५–१५, २५–१९ र २५–२३ को सेटमा पराजित गर्यो ।
उपाधिसंगै एफसीले २१ हजार नगदसहित ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको ध्रुवताराले १० हजारमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवास हमाल भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै उत्कृष्ट ब्लकर एफसीका मनिराम चौधरी, स्पाइकर एफसीकै ललित विक, डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, सर्भर न्यू जागृतीका किरण बुढाथोकी र उत्कृष्ट सेटरएफसीका भरत विक चुनिए ।
रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितमा संजय स्मृति प्रतिष्ठानको प्रायोजन र न्यू एभरेष्ट डिस्लरीले सह– प्रायोजन गरेको थियो ।
खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।