काठमाडौं । सातौं संस्करणको अन्नपूर्ण पोस्ट ‘राइड फर लाइफ’ साइकल र्यालीको उपाधि श्रीनिशा श्रेष्ठले जितेकी छन् । र्यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छनोट गरिएको भाग्यमानी विजेतमा श्रीनिशा पर्न सफल भइन् ।
उपाधिसँगै उनले हिमालय क्रसकन्ट्री माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् । यसैगरी जियाओमी रेडमी नोट नाइन मोबाइल पुरस्कार अमृत काजी शाक्य, सिको घडी अशोका देवकोटा, सिम्रिक एयरको गोसाइँकुण्ड टुर प्याकेज उमेश थापा र अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवा अमृत थापा र कर्मा ढोन्दुकले प्राप्त गरे ।
विजेतालाई राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, अन्नपूर्ण मिडिया नेटवर्कका सिईओ मानस घिमिरे, सम्पादक अखण्ड भण्डारी, अनलाइन सम्पादक विष्णु सुवेदी, समाचार प्रमुख रोशन राउत, मार्केटिङ प्रमुख दिलिप तामाङ, फाइनान्स प्रमुख कुमार पोखरेल, मानव संसाधन विभागकी डेपुटी म्यानेजर इन्दु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर र्याली समापन भएको थियो ।
अन्नपूर्ण मिडिया नेटवर्कले विगत सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्याली आयोजना गर्दै आएको छ । क्यान्सर केयर फाउन्डेसनसँगको सहकार्यमा आयोजित र्यालीलाई यसपटक जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको थियो ।
नेपाल साइकल संघ र नेपाल साइकल सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित र्यालीलाई सर्वोत्तम सिमेन्ट, जियाओमी रेडमी नोट नाइन मोबाइल, नबिल बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, शिखर इन्सुरेन्स, मेगा बैंक, अल्का अस्पताल, रियल जुस, एनसेल, सिम्रिक एयर, प्याङ्क बाइक, नेबिको, के एन्ड के इन्टरनेसनल कलेज, लायन्स क्लब अफ काठमाडौं समर्पण, नेपाल क्यान्सर हस्पिटललगायत संघसंस्थाले सहप्रायोजन गरेका थिए ।