पोखरा । पोखरामा आयोजना हुने टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने प्रतियोगिता माघ २७ देखि फागुन १ सम्म हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको छ ।
महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र न्यू डायमण्डको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन ।
अनुमानित २५ लाख खर्च हुने प्रतियोगिताबाट ३० लाख बचत गर्ने लक्ष्य लिएको ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी गराए ।
प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने ग्रुपले जनाएको छ ।
प्रतियोगिता दर्शकले टिकट काटेर हेर्नु पर्नेछ । समूह चरणको खेलका लागि टिकट दर १ सय रुपैयाँ तोकिएको छ । त्यस्तै सेमिफाइनलको १ सय ५० र फाइनल खेलका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ ।