नेपालगन्ज । प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितालाई संजय स्मृती प्रतिष्ठान पाल्पाले मुख्य प्रायोजन गर्ने भएको छ ।
माघको २२ गते देखी हुन लागेको भलिबल प्रतियोगिता माघको २४ गते सम्म चल्नेछ ।
योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँकेका १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतिष्ठानले बुधबार प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने घोषणा गरेको हो ।
संजय स्मृति प्रतिष्ठान अध्यक्ष निरोज मास्केले भलिबलको विकासमा स्थानीय स्तरका प्रतियोगिताले योगदान गर्ने बताईन ।
नेपाल भलिबल संघ उपाध्यक्ष समेत रहेकी मास्केले प्रतियोगितालाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताइन ।
‘गाउँमा हुन लागेको प्रतियोगिताको महत्व हुन्छ । यसले नयाँ खेलाडी उत्पादनमा मुख्य भुमिका खेल्ने गर्छ । त्यसका लागि हामी सहयोग भएर जोडिन पाउँनु खुसीको कुरा हो,’ मास्केले भनिन् ।
यसैगरी प्रतियोगितालाई न्यु एभरेष्ट डिस्टिलरीले सह–प्रायोजन गरेको छ ।
नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुने प्रतियोगिताका प्राविधिक संयोजक प्रकाश शर्माले बताए । प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यसैगरी बिहिबार देखी सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले प्रतियोगिताको सबै तयारी सकिएको बताए।