पोखरा । कास्की जिल्ला भलिबल संघले फागुन पहिलो साता पोखरामा ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिता आयोजना गर्दैछ ।
भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
कास्की जिल्ला भलिबल संघले प्रतियोगिता सफल बनाउन तयारीलाई तिब्रता दिएको छ ।
यतिबेला प्रतियोगिताको लागि जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ ।
यस प्रतियोगिताबाट संघले प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ ।
संघका अध्यक्ष भीम पराजुलीका अनुसार यस प्रतियोगितालाई नवौं राष्ट्रिय खेलकुदको तयारीको रुपमा समेत लिईएको छ ।
‘गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्ष्य गरी प्रतिभावान भलिबल खेलाडी उत्पादन गर्ने तथा प्रदेशमा खेलकूद विकासको उद्देश्यले पहिलोपटक मुख्यमन्त्री कप गर्न लागेका हौँ,’ उनले भने, 'खेलाडी छनोटलगायत तयारीका काम भइरहेको छ ।’
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने संघले जनाएको छ ।