काठमाडौं । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) ले प्रदेश-२ को संयोजक तोकेको छ ।
महासंघले निजगढ नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष जयराम कुमरलाई प्रदेश-२ को संयोजक नियुक्त गरेको हो ।
कुमरलाई २ महिनाभित्रमा केन्द्रसँग समन्वय गर्दै प्रदेश भित्र रहेका जिल्लाहरुमा संयोजक चयन गर्ने अधिकार सहित जिल्ला एवं प्रदेश समिति गठन गर्ने जिम्मेवारी समेत तोकेको छ ।
यस्तै एनटीएफले दुई केन्द्रिय सल्लाहकार समेत चयन गरेको छ ।
महासंघले केन्द्रिय सल्लाहकारमा निजगढ नगरपालिका उप प्रमुख लिलादेवी लामिछाने खनाल र वडा नं.२ का वडाध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलाई मनोनित गरेको हो ।
जनप्रतिनिधि समेत रहेका सल्लाहकार खनाल, ढोडारी र संयोजक कुमर निजगढ एवं बारा जिल्लास्तरमा विकासप्रेमी, सामाजिक अभियन्ता एवं युवा तथा खेलकुद क्षेत्रमा योगदान दिएका कारण परिचित छन् ।
महासचिव सुदिपचन्द्र बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासंघले विश्वका विभिन्न तेक्वान्दो संस्थासंग सम्बन्धन पाएको छ । एनटीएफले विश्व सङमोक्वान संघ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ (स्पेन) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ ।
महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध छन् ।