पोखरा । प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता फागुनको पहिलो साताबाट आयोजना हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन पहिलो साताबाट आयोजना हुने जानकारी दिएको छ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म हुनेछ ।
प्रतियोगिताको महिला तथा पुरुष विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।
प्रतियोगिता संचालनका लागि करिब ५४ लाख ३४ हजार खर्च लाग्ने संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै कास्की भलिबल संघका अध्यक्ष भिम पराजुलीले यस प्रतियोगिताले गण्डकी प्रदेशका लागि उत्कृष्ट महिला तथा पुरुष टिम निर्माण गर्न मद्दत पुग्ने बताए ।
प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारीको रुपमा लिएको छ ।
प्रतियोगिताले खेलाडी प्रतिभा छनौटमा सहजा हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताएका छन् ।
‘यो प्रतियोगिता मात्रै नभई नवौं राष्ट्रिय खेलकुदका लागि ११ जिल्लाबाटै उत्कृष्ट महिला तथा पुरुष खेलाडीको छनोट गर्ने राम्रो अवसर समेत हो,’ उनले भने ।