काठमाडौं । नेपाल भलिबल संघले काठमाडौंको बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय गरेको छ ।
सोमबार काठमाडौंमा बसेको भलिबल संघको कार्यकारी समितिको बैठकले बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने निर्णय गरेको हो ।
संघका अनुसार बुढानिलकण्ठ स्कुलको प्राङ्गणमा भलिबलको कभर्डहल बन्नेछ ।
सरकारले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेसंगै अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने चर्चा सुरु भएको थियो ।
नेपालको महिला भलिबल टिमले गत वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेपछि सरकारले अन्तराष्ट्रिय कभर्डहल निर्माणका लागि बजेट दिने घोषणा गरेको थियो ।
महिला भलिबलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत पदक जितेपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले कभर्डहलका लागि आवश्यक बजेटको प्रबन्ध गर्ने घोषणा गरेका थिए ।
सरकारले कभर्डहलका लागि बजेट दिने बताएपनि संघले जग्गा प्राप्त गर्न सकेको थिएन । संघले पछिल्लो समय बुढानिलकण्ठ स्कुल रहेको स्थानमा कभर्डहलका लागि जग्गा प्राप्तिको पहल गरेको थियो ।
सोही अनुसार संघले कभर्डहल निर्माणका लागि आवश्यक पहल कदमी लिन अध्यक्ष मनोरञ्जन रमण शर्माको संयोजकत्वमा कमिटि समेत गठन गरेको थियो ।
समितिबाट प्राप्त सुझावका आधारमा संघले बुढानिलकण्ठमा कभर्डहल निर्माण गर्ने निर्णय सहित विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने काम अघि बढाउन सहमत बनेको हो ।
संघका सचिव मानविर छत्यालले बुढानिलकण्ठमा भलिबलको अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय गरिएको खेलपाटीलाई बताए ।
‘बुढानिलकण्ठमा कभर्डहल निर्माणका लागि डीपीआर तयार गर्न फाईलहरु अघि बढेको छ । यसविषयमा राखेपसंग औपचारिक छलफल भएको छ ।’ छत्यालले भने ।
उनले कभर्डहलका लागि आवश्यक डीपीआर निर्माणका लागि राखेपलाई औपचारिक जानकारी समेत गराईएको उल्लेख गरे ।
नेपालको राष्ट्रिय खेलको रुपमा घोषित भलिबलको आफ्नै कभर्डहल थिएन । दशरथ रंगशालामा रहेको कभर्डहलमा भलिबल संघले अस्थायी रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको थियो ।
यस्तै, बैठकले पोखरामा क्लब च्याम्पियनसिप भलिबल आयोजना गर्ने निर्णय गरेको छ । सो प्रतियोगिता महिलातर्फ न्युडायमण्ड र तीन विभागीय टिम खेल्नेछन् भने पुरुषमा तीन विभाग सहित गण्डकी प्रदेशको टिमले प्रतिस्पर्धा गर्नेछ ।