काठमाडौं । युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व वरियताको नम्बर एक हुने लक्ष्य रहेको बताएका छन् ।
विश्व ब्याडमिन्टन महासंघले सार्वजनीक गरेको पछिल्लो वरियतामा तेस्रो स्थानमा उक्लिएका प्रिन्सले शीर्ष स्थान कब्जा गर्ने लक्ष्य रहेको बताए ।
‘पछिल्लो वरियतानै निकै खुसी छु । यो नेपालका लागि पनि गौरवको कुरा हो ।’ प्रिन्सले खेलपाटीसंग भने ।
विश्व ब्याडमिन्ट महासंघको आधिकारिक प्रतियोगितामा सहभागी बनेर प्राप्त नजिताका आधारमा वरियता निर्धारण हुने गर्छ ।
‘बीडब्लुएफको प्रतियोगितामा सहभागी भएपछि र नतिजाले अंक बढ्ने हो । सोही आधारमा वरियता निर्धारण हुन्छ ।’ उनले भने , ‘अब नम्बर एक हुने विचार छ ।’
प्रिन्सले ब्याडमिन्टनमा प्राप्त गरेको सफलता अहिलेसम्मकै उच्च हो । यसअघि कुनैपनि नेपाली ब्याडमिन्टन खेलाडीले सो सफलता हात पारेका थिएनन् ।
विश्व ब्याडमिन्टन महासंघले महिला, पुरुष र जुनियर गरि तीन विधामा वरियता सार्वजनीक गर्ने गरेको छ । प्रिन्सले जुनियरतर्फ तेस्रो वरियता प्राप्त गरेका हुन् ।
प्रिन्सले युथ ओलम्पिक खेल्ने आफ्नो इच्छा रहेको बताएका छन् । उनले युथ ओलम्पिकमा सहभागी बनेर पदक जित्ने इच्छा रहेको उल्लेख गरेका छन् ।
‘युथ ओलम्पिक खेल्ने इच्छा छ । ओलम्पिकमा देशका लागि पदक जित्ने लक्ष्य राखेको छु ।’ उनले भने ।
प्रिन्सले राखेपको सहयोगले पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सहज भएको बताए ।
‘केही पैसा आफैले हाल्ने गरेको छु । राखेप र सदस्य सचिवले समेत प्रतियोगिता खेल्न जादाँ सहयोग गर्नुभएको छ ।’ प्रिन्सले थपे ।