काठमाडौं । नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई ट्रयाक सुट तथा खेलपोशाक वितरण गरेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रिय कार्यालयमा रहेको हलमा कांग्रेसका खेलकद विभाग प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा पारा राष्ट्रिय टिमका खेलाडीलाई ट्रयाक सुट तथा खेल पोशाक वितरण गरिएको हो ।
तेक्वान्दो खेलाडी संगिना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिशर्ट प्रदान गरिएको थियो ।
तेक्वान्दोकी पूर्व खेलाडी तथा प्रशिक्षक संगिना वैद्यले विभिन्न सहयोगी संस्था तथा ब्यक्तिसंग सहकार्य गरेर पारा खेलाडीलाई खेल सामाग्री जुटाईएको खेलपाटीलाई बताईन् ।
उनका अनुसार बज्र सेक्युरिटीले ट्रयाक, गोदावरीले जुत्ता, स्तम्भ बहुउद्धेश्य सहकारीले ब्याग र पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन् ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कोरोनाले थला परेको घरेलु खेलकुदको समयमा सराहनिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
‘छोटो समयमा एसियाली र विश्व स्तरमा मेडल जित्न सफल भएका छौ । अब ओलम्पिकको तयारीमा छौ ।’ उनले भने, ‘अब कुनै मेडल हासिल गरेको खण्डमा त्योनै नेपालको पहिलो ओलम्पिक मेडल हुनेछ ।’