काठमाडौं । कोरोना भाईरसको महामारीले प्रभावित बनेको जुडो खेलको प्रशिक्षण मंगलबार सुरु भएको छ ।
काठमाडौं नयाँ बजारस्थित बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्रमा जुडोको प्रशिक्षण सुरु भएको हो ।
संघका महासचिव धर्मकुमार श्रेष्ठले कोरोनाले प्रभावित बनेको जुडोको प्रशिक्षण मंगलबार औपचारिक रुपमा सुरुवात गरिएको खेलपाटीलाई बताए ।
‘कोरोनापछि प्रशिक्षण बन्द थियो । प्रशिक्षणलाई अब सुरु गरौ भन्ने उद्धेश्यले सुरु गरेका हौं ।’ उनले भने ।
महासचिव श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय तहसंगको सहमतीमा जुडोको प्रशिक्षण सुरु गरिएको हो ।
‘जुडोमा लक्ष्य राखेर खेल्ने खेलाडी पनि छन् । छनोट खेलको तयारी गर्नेहरु पनि छन् । प्रतियोगितालाई लक्षित गरेर तयारी हुन खोज्ने खेलाडीलाई केन्द्रित गरेर प्रशिक्षण सुरु गरेका हौ ।’ श्रेष्ठले भने ।
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण सूरु गरिएको श्रेष्ठले बताए ।
प्रारम्भिर रुपमा शारिरिक प्रशिक्षण सुरु गर्ने र बिस्तारै पुरानै लयमा फर्काउने लक्ष्य राखिएको श्रेष्ठले उल्लेख गरे ।
नेपाल जुडो संघले आफ्नै प्रशिक्षण हल छैन । यसअघि संघले दशरथ रगशाला र सातदोबाटोको हलमा प्रशिक्षण गर्दै आएको थियो ।
१३ औं सागपछि रंगशालाको जुडो हल अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रयोग गरेको छ भने सातदोबाटोको हल सुटिङ्ग खेलका लागि प्रयोग भईरहेको छ ।