काठमाडौं । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोको लेबल-२ प्रशिक्षण कोर्स उत्तीर्ण गरेका छन् ।
विश्व तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म संचालन भएको कोर्समा लामा उत्तीर्ण भएका हुन् ।
लामाले अनलाईनबाट संचालन भएको कोर्समा आफु उत्तीर्ण भएको जानकारी गराए ।
पारा तेक्वान्दोको लेबल-२ कोर्स पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक हुन् ।
लामाले यसअघि गत असोजमा लेबल-१ कोर्स उत्तीर्ण गरेका थिए ।
लेबल-२ कोर्समा एसियाबाट १८ राष्ट्रका प्रशिक्षकहरु सहभागी भएको लामाले जानकारी गराए ।
तीन दिने अनलाइन कोर्समा पारा तेक्वान्दोका विभिन्न विषयमा वल्र्ड तेक्वान्दो फेडरेसनअन्तर्गत पारा कमिटीका उस्मान दिल्दार, चकिर चेल्बाट र नादेज्दा पेट्रोभाले प्रशिक्षण दिएका थिए ।
सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएको पारा तेक्वान्दो कोर्स उतीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन् ।
विश्व तेक्वान्दो फेडरेसनको नयाँ नियम अनुसार हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकमा सहभागी हुन अनिवार्य रुपमा अन्तर्राष्ट्रिय पारा कोर्स उतीर्ण हुनुपर्ने प्रावधान छ । जस अनुसार वल्र्ड तेक्वान्दोको स्वीकृतीमा हुने जी–१ र जी–२ जस्ता क्षेत्रीय स्तरका प्रतियोगिताका लागि लेबल–१, एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताका लागि लेबल–२ र वल्र्ड च्याम्पियनसिप तथा पारा ओलम्पिकका लागि लेबल–३ गरेको हुनुपर्नेछ ।
वल्र्ड तेक्वान्दोले यो नियम सन् २०२१ देखि लागु गरिने जनाएको छ ।