काठमाडौं। अनलाईनल कराते विश्व च्याम्पियनसिपमा नेपालले २ स्वर्ण सहित कुल १० पदक जित्न सफल भएको छ ।
नेसनल कराते अफ ब्राजिलको आयोजनमा भएको अनलाईन काता च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जितेको हो ।
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।
ब्राउन बेल्ट देखि ब्लाक बेल्ट सम्मको प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपको १३ देखि २१ वर्ष समूहमा निताले २४.७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन् । क्यारोलिनले २४.५५ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा ईन्डोनेसिया र भारतका खेलाडीहरु रहे ।
यस्तै पुरुषतर्फको सोहि स्पर्धामा नेपालका सोनिमले २४.९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । सायकले २४.७३ अंक हात पारेका थिए । तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे ।
निता र सोनिमले वेष्ट अफ दि वेष्ट तर्फ पनि कास्य पदक प्राप्त गरे । निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र ईन्डोनेसियाले कास्य पाए । यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा ईन्डोनेसियाले रजत र कास्य पायो ।
यस्तै नेपालका लागि सञ्जु देसारले रजत हात पारिन् । महिला १४ देखि १५ वर्ष उमेर समूहमा देसारले २५.३१ अंक प्राप्त गरेकी थिईन् । प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अंकका साथ स्वर्ण जितेकी थिईन् । तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे ।
पुरुष ग्रिन देखि ब्लाकबेल्ट ८ देखि ९ वर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७.१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे । भेनेजुएलाका ग्राबिल ईडुआर्डोले ३२.३० अंकका साथ स्वर्ण र ईन्डोनेसियाका मोहमद अल तरावीले ३२.१७ अंकका साथ रजत पाए । यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए ।
महिलाको ह्वाईट÷एलो बेल्टको १४ – १५ वर्ष समूहमा दीपिका सापकोटाले २३.०१ अंकका साथ कास्य पाईन् । सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए । यस्तै महिलाकै अरेन्ज ÷ रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाईन् । उनले २२.७३ अंक हात पारेकी थिईन् । सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए ।
महिला जुनियर १३ देखि २१ वर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३.५३ अंकका साथ कास्य हात पारिन् । यस स्पर्धामा पहिलो , दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पार्यो ।
१२ देखि ३१ वर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राज कुमार श्रेष्ठ पाँचौ स्थानमा रहे ।
मास्टर्स ३२ देखि ४१ वर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे । उनले २४.१७ अंक प्राप्त गरेका थिए । सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पार्यो । हेल्दर कोटेस बोनिफासियोले २४.७३ अंक र कृष्टिआनो भानीले २४.३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे । अर्को कास्य पदक ब्राजिलकै पोल्टमा पर्यो ।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट रवी शाहीले संयोजनको भूमिका निर्वाह गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरेको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।