धनगढी । तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने कीर्तिमान बनाएका छन् ।
विनोदले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेर कीर्तिमान बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि यस कीर्तिमान बनाएका छैनन् ।
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा थापाले कीर्तिमान बनाएका हुन् । उनले दिउँसो ठिक १२ः३० मा सुरु भई १:३० सम्म एक घण्टामा २७५० किक हानेर कीर्तिमान बनाएका हुन् ।
धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कंचनपुर तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरी लगायत प्रदेश संघका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो ।
अब उनले अर्को कीर्तिमान अक्टोबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्नेको बनाउने छन् ।
यस कीर्तिमान जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ ।
त्यस पश्चात थापाको दुबै कीर्तिमानको डकुमेन्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाईने छ ।