काठमाडौं । नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाडी ओम प्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए ।
उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।
अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न संघले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।