काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार विदाई गरेको छ ।
बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई विदाई गरे ।
रहिमुभ बिहीबारै उज्वेकिस्तान फर्किएका छन् । उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन् । त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ ।
रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
रहिमुभको प्रशिक्षणमा नेपालले बक्सिङको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बक्सिङ संघले जनाएको छ ।
उनको प्रशिक्षणमा नेपालले नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो ।
१३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए ।
विदाईका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताउदै रहिमुभसहित उज्वेकिस्तान बक्सिङ संघ र आइबालाई धन्यवाद दिए ।
प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको बताए ।