काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट टिमकाे मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ ।
क्यानले बिहीबार मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।
क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको विज्ञापन खुल्ला गरेकाे छ ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्वय गर्दै रिक्त रहेको पदमा विज्ञापन खुलाएकाे हाे ।
यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
तर आईसीसीको प्रक्रियामा ढिलाई भएकाे कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि विज्ञापन खुलाएकाे हाे ।
इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्नेछ ।
नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।
क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने निर्णय लिएको थियो ।
गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिज लगत्तै नेपाली टिम मुख्य प्रशिक्षक विहिन छ । तत्कालिन प्रशिक्षक उमेस पटवालले समय अवधि नसकिंदै राजीनामा दिएर स्वदेश फर्किएसंगै सो पद रिक्त अवस्थामा छ ।
क्यान निलम्बनमा रहेको बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आईसीसीसको सहमतिमा पटवाल एक वर्षको लागि नेपालको प्रशिक्षकमा अनुबन्धित भएका थिए । तर उनले आफ्नो सम्झौताको समय अवधि नसकिदै राजिनामा दिए ।
सम्झौता अवधि सकिन झन्डै ३ महिना बाँकी रहँदा पटवालले तलबको विषयमा असन्तुष्टि देखाउँदै आईसीसीमा राजिनामा बुझाएका थिए ।
कस्ता प्रशिक्षकले दर्खास्त दिन सक्छन् ?
- इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले
- आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्र वा अन्तराष्ट्रिय लिगमा तीन वर्ष प्रशिक्षकको भूमिका निभाएकाले
- क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेकाले
- ६० वर्ष ननाघेका पुरुषले