काठमाडौं । गत बर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ ।
पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।
नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।
१३ औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो ।
प्रतियोगितामा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए ।
यस्तै, ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । यस्तै, प्रशिक्षकको रुपमा प्रकाश थापा मगर र प्रवीण तुलाधर रहेका छन् ।
कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आएको हुदाँ बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले बताए ।
बिमा पोलिसी एकमुष्ट प्रमुख प्रशिक्षक प्रकास थापा मगरलाई हस्तान्तरण गरिएको थियो । बीमा कार्यक्रमले महामारीको समयमा खेलाडीको हौसला बढाउन सहयोग गर्ने प्रशिक्षक थापाले बताए ।