एजेन्सी । अमेरिकाका बास्केटबल लेजेण्ड लेब्रोन जेम्सले अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको उम्मेदवारलाई सघाउने भएका छन् ।
लेब्रोनले राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक तर्फबाट उम्मेदवार बनेका जो बाइडन र उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसलाई सघाउने भएका हुन् ।
'हामी यस्तो समयमा छौं जहाँ हामीलाई परिवर्तन चाहिन्छ,' जेम्सले भनेका छन्, 'परिवर्तनको क्रम नेतृत्वबाट सुरु हुन्छ र नेतृत्व शीर्षबाट सुरू हुन्छ ।'
एनबीए स्टार लेब्रोनले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई सघाएका थिए ।
तर, रिपब्लिकनका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए । यस पटक पनि ट्रम्पले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचन आगामी नोभेम्बरमा हुँदैछ ।
लस एन्जल्स लाकर्सका ३५ वर्षे लेब्रोनले अमेरिकाको लागि ओलम्पिकमा दुई पटक स्वर्ण जितिसकेका छन् ।
सन् २००८ को बेईजिङ र १२ को लण्डन ओलम्पिकका अमेरिकालाई स्वर्ण दिलाउन उनलेले महत्वपूर्ण भूमिका खेलेका थिए ।
लेब्रोन हालसम्म १६ पटक एनबीए अल स्टार र ४ पटक मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।