काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घरसम्म पुर्याईदिने भएको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई एन्फाले गृहजिल्ला पुर्याईदिने भएको हो ।
भदौ १ गतेबाट तय भएको प्रशिक्षण एन्फाले अनिश्चित समय सम्मका लागि स्थगित गरेकाे छ ।
राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुसुदन उपाध्यायले खेलाडीलाई लिएर एन्फाको गाडी पूर्व निस्किएको खेलपाटीलाई जनाए ।
‘उपत्यका छिरेका पूर्वका खेलाडीलाई एन्फाले आफ्नै गाडीमा घर फर्काएको छ । खेलाडी लिएर गाडी विहानै त्यसतर्फ प्रस्थान गरेको छ,’ केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले भने ।
एन्फाले प्रशिक्षण सुरु गर्ने भन्दै खेलाडीलाई उपत्यका बोलाएको थियो । उपत्यकाबाट आउने खेलाडीलाई होटेलको क्वारेन्टिनमा समेत राखेका थियो ।
तर, एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका सम्पूर्ण खेलहरु २०२१ सम्मका लागि स्थगित गरेसँगै एन्फाले प्रशिक्षण समेत स्थगित गरेको थियो ।
प्रशिक्षण तयारी योजना अनुसार एन्फाले खेलाडीसहित अफिसियल र स्टाफको कोरोना परिक्षण समेत गराएको थियो । मंगलबार मात्रै २५ जनाको पीसीआर नतिजा नेगेटिभ आएको थियो ।
राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसँगै एन्फाले मंगलबारनै क्वारेन्टिनमा रहेका खेलाडीलाई रिलिज गरेको थियो । एन्फाले खेलाडीलाई होम आईसोलेशनमा बस्न अनुरोध गरेको छ । यस्तै एन्फाले आफ्नो कार्यालय समेत १ हप्ताको लागि बन्द गरेको जनाएको छ ।
एन्फाले पूर्वका ९ खेलाडी र पोखराका अफिसियल सहित ३ जनालाई घर पठाएको हो । पूर्व जाने खेलाडीमा दर्शन गुरुङ, विशाल राई बी, अनन्त तामाङ, मिक्चेन तामाङ, दिलेन लोक्ताङ, रन्जित धिमाल, पुजन उपर्काेटी, देवेन्द्र तामाङ र विकाश खवास रहेका छन् ।
यस्तै पोखरा जानेमा बिमल राना, दिप कार्की र सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका छन् । अन्य खेलाडी भने उपत्यकामा रहँदै आएका छन् ।
कतारमा हुने फिफा विश्वकप २०२२ छनोट र चीनमा हुने एसियन कप २०२३ छनोटको समूह 'बी' मा रहेको नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने मिति तय थियो ।
एएफसीले उक्त बाँकी खेल सन् २०२१ मा गराउने जनाएको छ । तर, एएफसीले नयाँ मिति भने तोकेको छैन ।