काठमाडौं । डोपिङ परिक्षणमा असफल देखिएपछि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का तीन पदकधारी पाकिस्तानी खेलाडीलाई चार वर्षको प्रतिबन्ध गरिएको छ ।
डोपिङ परिक्षणमा असफल पाकिस्तानका तीन खेलाडीलाई साउथ एसियन ओलम्पिक काउन्सिलको एन्टी डोपिङ नियम अनुसार चार वर्षको प्रतिबन्ध गरिएको हो ।
ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय मिटरमा कास्य विजेता समी उल्लाह डोपिङ परिक्षणमा असफल भएका हुन् ।
सागमा सहभागी खेलाडीको डोपिङ परिक्षण गर्दा तीन जना पाकिस्तानी खेलाडी असफल देखिएका थिए । खेल लगत्तै उनीहरुबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परिक्षणमा पठाईएको थियो ।
विश्व एन्टी डोपिङको नियम अनुसार तीन जना खेलाडीलाई पुन बी स्याम्पल टेष्टका लागि अनुरोध गरिएको थियो । जसमा दुई जना खेलाडी मुहम्पद र मेहबुबले मात्र बी स्याम्पल टेष्ट गरेका थिए ।
दोस्रो पटक गरिएको टेष्टमा समेत रिपोर्ट पोजेटिभ आएपछि खेलाडीले सो रिपोर्टलाई स्विकार गरेका हुन् ।
डोपिङ परिक्षणमा असफल भएसंगै खेलाडीको पदक खोसिनुका साथै चार बर्षको प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
१३ औं साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । प्रतियोगितामा पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो । पाकिस्तान १४ औं सागको आयोजक समेत रहेको छ ।