काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)मा मताधिकार सहितको एथ्लिट्स कमिसन बन्ने भएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले अनिवार्य गरेको एथ्लिट्स कमिसन गठनको प्रक्रियालाई नेपाल ओलम्पिक कमिटिले समेत अघि बढाएको छ ।
एनओसीले एथ्लिट्स कमिसन गठनका लागि सबै संघबाट एक महिला र एक पुरुष गरि दुई-दुई जनाको नाम माग गरेकाे छ ।
‘सबै संघबाट खेलाडीको नाम प्राप्त गरेका छौ । उनीहरुको बैठक राखेर संयोजक सहित कमिसन गठनको प्रक्रिया पुरा गछौ ।’ एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले खेलपाटीसंग भने ।
महासचिव श्रेष्ठका अनुसार एथ्लिट्स कमिसनका संयोजक मताधिकार सहित ओलम्पिक कमिटिको कार्यसमिति बैठकमा सहभागी हुन पाउनेछन् ।
‘एथ्लिट्स कमिसनबाट आएको प्रतिनिधि एनओसीको बोर्ड बैठकमा पनि बस्छ । खेलाडीको मुद्धा र बिषयमा कुरा गर्न पाउछ । उसले एनओसीको साधारण सभामा मताधिकार समेत प्राप्त गर्नेछ ।’ महासचिव श्रेष्ठले भने ।
नेपाल ओलम्पिक कमिटिमा हाल १० वटा विभिन्न कमिसन रहेका छन् । एनओसीको पोखरामा बसेको पछिल्लो बोर्ड बैठकले कमिसनको संयोजक तोक्ने काम गरेको थियो ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)को नियम अनुसार एनओसीले खेलाडीको प्रतिनिधिtत्व रहने कमिसन गठन गर्न लागेको हो ।
एथ्लिट्स कमिसन गठन गर्ने आईओसीको निर्णयलाई ओलम्पिक अभियानमा निकै महत्वपूर्ण मानिएको छ । जसको गठन नेपालमा समेत पहिलो पटक हुन लागेको हो ।
कमिसन गठन भएसंगै खेलाडीले मताधिकार सहित ओलम्पिक कमिटिको बोर्ड बैठकमा सहभागी भएर खेलाडीको समस्यामा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् ।
आईओसीले निर्वाचनमार्फतनै एथ्लिट्स कमिसन गठनका लागि सम्बन्धित देशका ओलम्पिकलाई निर्देशन दिएकाे छ । एनओसीले सहमतीका आधारमा अन्य कमिसनको संयोजक तोकेपनि एथ्लिट्स कमिसन भने निर्वाचन प्रक्रियामार्फतनै गठन हुनेछ ।
एथ्लिट्स कमिसनको नेतृत्वमा चयन हुने खेलाडी एनओसीसंगै अन्तराष्ट्रिय एथ्लिेट्स कमिसनको समेत सदस्य हुन पाउनेछ । एथ्लिट्स कमिसन अब एनओसीको संरचना र निर्वाचन प्रकृयामा महत्वपूर्ण सदस्यको रुपमा रहने देखिन्छ ।
एनओसीमा २७ वटा संघ छन् । सबै संघका एक प्रतिनिधिलाई एनओसीको निर्वाचनमा मताधिकार प्राप्त छ । अब बन्ने एथ्लिट्स कमिसनबाट एक पुरुष र एक महिला गरि दुई मत एनओसीको निर्वाचनमा सहभागी बन्नेछ ।