काठमाडौं । नेपाल बक्सिङ संघले केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यलाई दुर्व्यवहार नभएको बताएको छ ।
संघले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै संघका महासचिवलाई दुर्व्यवहार नभएको र दुर्व्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
'नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले एवम् संघप्रति नै लक्षित गरी यस संघका महासचिवद्धारा केहि संचार माध्यममार्फत संघको पूर्ण कार्यसमितिको बैठकमा हातपात गरेको,आर्थिक अनियमितता एवम् बक्सिङ खेलको बिकासमा ध्यान नदिएको,एकलौटी रुपमा संघ संचालन गरेको भन्ने समाचारप्रति नेपाल बक्सिङ संघको गम्भिर ध्यानाकर्षण भएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत साता महासचिव भट्टाचार्यले एक विज्ञप्ति निकाल्दै बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको बताएका थिए ।
आफुलाई दुर्व्यवहार हुँदा संघका अध्यक्ष राम अवाले सँगै भएपनि अध्यक्षबाट कुनैपनि प्रतिक्रिया नआएपछि आफुले विज्ञप्ति निकाल्न बाध्य भएको उनले बताएका थिए ।
तर, संघले भने महासचिव भट्टाचार्यको आरोपलाई खण्डन गर्दै कपोकल्पीत, निराधारपूर्ण अभिब्यक्तिको संज्ञा दिएको छ ।
'संघको महासचिव जस्तो जिम्मेवार ब्यक्तिबाट बक्सिङ खेलको बिकास र बिस्तारमा भ्रम सृजना गर्ने गैरजिम्मेवारी, कपोकल्पीत, निराधारपूर्ण अभिब्यक्तिले संघको गरिमालाई नै आघात पुर्याएको महशुस भएको छ,' विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले कोरोनाका कारण भौतिक दुरी कायम गरी भएको बैठकमा एशियन पदकधारी ब्यक्तिबाट त्यस प्रकारको हातपात गर्ने गतिबिधि हुने सम्भावना नभएको र संघ संचालनको क्रममा सामूहिक बिचार र निर्णयलाई नै मान्यता दिदै आएका जनाएको छ ।
संघले साउन १५ र १६ गते बसेको बैठक सहजरुपमा संचालन भएको र संघद्धारा गठित आर्थिक समितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर छलफल हुदा महासचिवले बिमति भने राखेको जनाएको छ ।
'बिमती राख्न पाउने उहाँको नैसर्गिक अधिकार पनि हो तर आफैले गठन गरेको समितीले पेश गरेको प्रतिबेदन् उपर चित्त नबुझेमा छलफलमा ल्याउनुपर्ने र सङ्गै बसेको लेखा परिक्षकसङ्ग सुझबुझ गर्न अधिकांश सदस्यहरुले आग्रह गर्दा पनि उहाँले बिकल्प नदिई बैठक टार्न मात्र खोज्नु भयो,' विज्ञप्तिमा भनिए
संघले विधान मिच्ने काम महासचिवले नै गरेको आरोप समेत लगाएको छ ।