काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको अभ्यासका लागि अवलम्बन गर्नुपर्ने 'प्रोट्रोकल' तयार पारेको छ ।
एन्फाले मेडिकल टिमसंग बसेर खेलाडीले अभ्यासका दौरान पालना गर्नुपर्ने नियमको निर्धारण गरेको हो ।
मेडिकल टिमले तयार पारेको प्रोट्रोकललाई लिएर एन्फाले खेलाडीसंग समेत छलफल गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले दिएको निर्देशन अनुसार अभ्यासका लागि 'प्रोट्रोकल' तयार पारिएको एन्फाले जनाएको छ ।
अभ्यास 'प्रोट्रोकल' अनुसार खेलाडी मैदान प्रवेश गर्दा र बाहिर निस्कदाको समय चेन्जिङ रुममा बस्ने समय घट्ने भएको छ ।
अभ्यासको अघि कोरोना संक्रमणको बिषयमा खेलाडी तथा स्टाफलाई जानकारी दिने र अभ्यासको दौरान खेल मैदानमा दर्शकलाई निषेध गरिने 'प्रोटोकल'मा उल्लेख छ ।
खेलाडीको नियमित तापक्रप नाप्नुको साथै दैनिक रुपमा अभ्यास मैदानलाई निर्मलीकरण गरिनेछ । टिमको बैठक पर्याप्त दुरी कायम राख्दै खुल्ला स्थानमा राखिने 'प्रोट्रोकल'मा उल्लेख छ ।
खेलाडीलाई सामुहिक रुपमा खाना खान निषेध गर्दै सकेसम्म दुरी राखेर मात्र भान्सामा बस्नुपर्ने नियम बनाईएको छ ।
अभ्यासका दौरान हरेक खेलाडीले नीजि पानीको बोत्तल प्रयोग गर्नुपर्ने छ । खेलाडीलाई चेन्जिङ रुम र नुहाउने समयमा सानो समुहमा मात्र प्रवेश गराईने उल्लेख छ ।
फिटनेस कोठामा सानो संख्यामा खेलाडी राखिने र प्रयोग पश्चात निर्मलीकरण गरिने 'प्रोट्रोकल'मा जनाईएको छ ।
विश्वकप छनोट अन्तर्गत राष्ट्रिय फुटबल टिमले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ । एन्फाले अभ्यासको दौरान खेलाडीले पालना गर्नुपर्ने 'प्रोट्रोकल' तयार पारेको हो । एन्फाले तयार गरेको 'प्रोट्रोकल'मा केन्द्रित रहेर खेलाडीको अभ्यास सुरु गरिनेछ ।
अभ्यासका लागि अधिकांश खेलाडी उपत्यका आईपुगेका छन् । एन्फाका अनुसार ११ जना खेलाडी सहित १३ जना होटल र २२ जना खेलाडी होम क्वारेन्टिमा बसेका छन् ।
एन्फाले भदौ १ गतेबाट विश्वकप छनोट अन्तर्गतको राष्ट्रिय फुटबल टिमको तयारी सुरु गर्दैछ ।