काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा मनोनित सदस्यले पत्र बुझेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयका एक कार्यक्रमका बीच परिषद्काे बोर्ड सदस्यमा मनोनित भएका चार जनाले प्राप्त जिम्मेवारीकाे पत्र बुझेका हुन् ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेपकाे बोर्ड सदस्यमा मनोनित भएका चार जनालाई बोर्ड सदस्यको पत्र दिएका थिए ।
सोमबार मन्त्रालयमा सदस्यका रुपमा रिम रानाभाट, अर्जुन केसी, सुवास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराईले सदस्य मनोनित भएको पत्र बुझेका हुन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिज्ञको रुपमा रानाभाट, खेलसंघको सिफारिसमा बक्सिङबाट अर्जुन केसी, ब्याडमिन्टनबाट सुवास श्रेष्ठ र साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट भट्टराईलाई परिषद्को बोर्ड सदस्यमा मनोनयन गरेका थिए ।
मन्त्री विश्वकर्माले बाग्लुङका सम्पन्न श्रेष्ठ र महिला बिज्ञको रुपमा ईन्दिरा निरौलालाई समेत परिषद्को बोर्ड सदस्यमा मनोनयन गरेका छन् । श्रेष्ठ र निरौला सोमबारको कार्यक्रममा अनुपस्थित थिए ।
करिब १९ जना पदेन सदस्य रहने परिषद्मा अब मन्त्रीपरिषद्ले ९ र परिषद्का अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले ६ जना मनोनयन गर्न पाउनेछन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा ३७ सदस्यीय बोर्डको ब्यवस्था गरिएकाे छ ।
परिषद्का सदस्यको पदावधि चार बर्षको हुनेछ । उनीहरुले राखेपको बोर्ड बैठकमा सहभागी भएर बजेट तथा परिषद्को कार्यक्रम पारित र समिक्षामा भूमिका खेल्नेछन् । परिषद्का बोर्ड सदस्यलाई मन्त्रालय र परिषद् थप जिम्मेवारी समेत दिन सक्नेछ ।
सदस्यलाई मनोनित पत्र दिदै सचिव थपलियाले ऐन कार्यान्व्यनमा सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
उनले नयाँ ऐनले सदस्यको कर्तब्य र अधिकारबारे प्रष्ट पारेको उल्लेख गर्दै परिषद् र सदस्य सचिवको दैनिक कार्यसम्पादनमा अवरोध नगर्न सचेत तुल्याए ।