काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबलमा ब्यवसायीक रुपमा फड्को मार्न राज्यबाट लगानीको अपेक्षा रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष शिव कोईराला र सदस्य सचिव रमेशकुमार सिलवाललाई एन्फा कम्प्लेक्समा सोमबार बधाई कार्यक्रम राख्दै एन्फा अध्यक्ष शेर्पाले सरकारबाट फुटबलमा लगानीको अपेक्षा राखेको बताए ।
‘फुटबल व्यवसायीक रुपमा अघि बढ्न सकेको छैन । अब राखेपबाट सहयोगको अपेक्षा गरेका छौ । आर्थिक सहयोग अन्यन्त आवश्यक देखिएको छ ।’ उनले भने ‘धेरै समयलाई नभएपनि तीनदेखि चार बर्ष राज्यले लगानी गर्नुपर्ने आवश्यकता छ ।’
अध्यक्ष शेर्पाले नेपालको घरेलु लिग फुटबललाई होम एण्ड अवेमा लैजाने तयारी गरिरहेको जानकारी दिदै सरकारले लगानी गरेको अवस्थामा लिग फुटबललाई ६ देखि ९ महिना सञ्चालन गर्न सकिने धारणा राखे ।
सरकारसंग अन्य सहयोग नमाग्ने उल्लेख गर्दै अध्यक्ष शेर्पाले लिगलाई ब्यवस्थित बनाउन सुरुवाती चरणमा सरकारले लगानी र सहयोग गर्नुपर्ने बताए ।
एन्फा अध्यक्ष शेर्पाले मैदान अभावका कारण विश्वकप छनोट अन्तर्गत सुरुवाती चार खेल नेपालमा खेल्न नसकिएको उल्लेख गर्दै राखेपका नयाँ पदाधिकारीले अब दर्शक सहित फुटबल सञ्चालनमा सहयोग गर्ने विश्वास लिएको बताए ।
‘मैदान अभावले सुरुमा घरेलु मैदानमा खेल्न सकेनौ । सदस्य सचिव ज्युले विश्वकप छनोटको बाँकी खेल दर्शक सहित आयोजना गर्ने ब्यवस्था गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।
उनले एन्फामा पारदर्शीता र सुशासन कार्यान्वयन गर्ने सन्दर्भमा संगठनको संरचना बलियो बनाउने काम गरेको जानकारी गराएका थिए । उनले विभिन्न ८ विभाग बनाएर क्षमता भएका कर्मचारीलाई जिम्मेवारीमा राखेको उल्लेख गरे ।