काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्य बन्न आकांक्षीहरुले दौडधुपले तिव्रता पाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै परिषद्को बोर्ड सदस्य बन्न आकांक्षीहरुले आन्तरिक लबिङ तिव्र पारेका हुन् ।
मन्त्रालयमा दैनिक जसो आधा दर्जन बढी आकांक्षीहरु पुगेर परिषद् सदस्यमा मनोनयन गर्न खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई बोयोडाटा बुझाउने गरेका छन् ।
‘दैनिक जसो मन्त्रालय पुग्ने र बायो डाटा बुझाउने क्रम जारी छ ।’ युवा तथा खेलकुद मन्त्रालयका एक अधिकारीले भने, ‘दैनिक आधा दर्जन बढी आकांक्षीहरु मन्त्रालय आउने गरेका छन् ।’
परिषद्को सदस्यका आकांक्षीहरुले बायोडाटा मेल गर्नेदेखि आफै उपस्थित भएर खेलकुद मन्त्रीसंग सदस्यका मनोनित गर्न अनुरोध गर्ने गरेका छन् ।
‘टेलिफोन गर्ने, मेल गर्नेहरु धेरैनै छन् । नियमित जसो मन्त्रालय आएर भेट्नेकाे संख्या समेत उल्लेख्य छ । केही ठुला नेतासंग धाएर समेत मन्त्रालय पुग्ने गरेका छन् ।’ ती अधिकारीले खेलपाटीसंग भने ।
खेलकुद विकास ऐन कार्यान्वयमा आएसंगै परिषद्को बोर्ड नयाँ बन्न लागेको हो । सरकारले नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।
यस्तै, ऐनले दिएको अधिकार बमोजिम खेलकुद मन्त्री विश्वकर्माले गत बिहिबार ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए ।
मन्त्री विश्वकर्माले खेलकुद बिज्ञ र प्राविधिकबाट रिम रानाभाट र ईन्दिरा निरौला तथा खेलकुद संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठलाई परिषद् सदस्यमा मनोनयन गरिसकेका छन् ।
यस्तै, साहसीक तथा पर्यटकीय खेल क्षेत्रबाट गोविन्द्र प्रसाद भट्टराईलाई मन्त्री विश्वकर्माले नियुक्त गरेका छन् ।
ऐनको ब्यवस्था अनुसार अब मन्त्रीपरिषद् र खेलकुद मन्त्रीले १५ जना सदस्य मनोनयन गर्न पाउनेछन् । मन्त्री परिषद्ले ९ जना र मन्त्रीले ६ गरि जम्मा १५ जना सदस्यको कोटा खाली रहेको छ । सोही कोटामा पर्न सदस्यहरुले आन्तरिक लबिङ तिव्र बनाउदै मन्त्रालयदेखि नेताहरुको घर दैलोमा दौडधुप सुरु गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार परिषद्का बाँकी सदस्य मनोनयनका लागि थप केही दिन लाग्ने भएको छ ।‘सदस्य मनोनयनका लागि केही दिन लाग्ने देखिन्छ । आन्तरिक छलफल गरेर मात्र बाँकी सदस्यको बिषयमा टुङ्गोमा पुग्ने तयारी छ ।’ ती अधिकारीले भने ।