काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव काेइराला र सदस्य सचिव रमेश कुमार सिलवालले पद तथा गोपनीयताकाे शपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार उपाध्यक्ष काेइराला र सदस्य सचिव सिलवालले शपथ लिएका हुन् ।
युवा तथा खेलकुद मन्त्री तथा परिषदका अध्यक्ष जगत बहादुर विश्वकर्माले उनीहरुलाई शपथ खुवाएका छन् ।
पद तथा गोपनीयताकाे शपथ लिएपछि सदस्य सचिव सिलवालले राखेपमा बाँकी रहेका अधुरा काम पुरा गर्ने बताए ।
'अधुरा काम पूरा गर्छु । विश्वले हेर्ने खेलकुद बनाउन प्रण गर्छु,' सिलवालले भने ।
खेलकुद मन्त्री विश्वकर्माले ऐन कार्यान्वयनमा कठिनाई भएपनि कार्यन्वयनको दिशामा अघि बढेको बताए ।
'ऐन कार्यान्वयनमा कठिनाई भएपनि सफल कार्यान्व्यनकाे दिशामा अघि बढेकाे छ,' उनले भने ।
यस्तै उपाध्यक्ष कोइरालाले आफु सामुहिकतामा विश्वास गरेर अघि बढ्ने बताए ।
सरकारले सोमबार राखेप उपाध्यक्षमा काेइराला र सिलवाललाई दोस्रो पटक सदस्य सचिवमा नियुक्त गरेको थियो ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रीपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।
सरकारले झण्डै एक वर्ष अघि सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । तर, नयाँ राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव पदको पद खारेज भएको थियो ।
मन्त्रालयले नयाँ ऐन अनुसार सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।
पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको सदस्य सचिवमा मन्त्रालयले सिलवालको नाम समावेश गर्दै मन्त्रीपरिषदमा पेश गरेको थियो ।