काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव रमेश कुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधिश आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको हो ।
सदस्य सचिवका आकांक्षी तथा पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।
सदस्य सचिवका आकांक्षी दाहालले राखेप र मन्त्रालयद्धारा गठिन सदस्य सचिव सिफारिस समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
उनले देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयले वेबसाईटमा ७ दिने सुचना प्रकाशित गरेको र अन्य सञ्चार माध्यममार्फत सुचना नदिएर छनोट प्रक्रिया मिचेको दाबी गर्दै रिट दायर गरेका थिए । उनले सुचना मन्त्रालयको लटेरप्याटमा सुचना जारी गरिनु कानुन विपरित रहेको दाबी सहित रिट निवेदन दायर गरेका थिए ।