काठमाडौं । ए डिभिजन क्लब फ्रेन्ड्सले भक्तपुरको चाँगुनारायण नगरपालिकामा फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ ।
शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनीक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
‘भक्तपुरमा आफ्नै मैदान बनाउने र होस्टेल सहितको ट्रेनिङ गराउने उद्धेश्य सहित जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।’ फ्रेन्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले खेलपाटीसंग भने ।
नगरपालिका अन्तर्गत वडा नम्बर ४ का अध्यक्ष बुद्धि लाल महर्जनले खेल मैदान बनाउन स्थानीयले सहमती प्रदान गरेको पत्र नगरपालिकालाई सिफारिस गरेका छन् ।
वडा अध्यक्ष महर्जनले क्लबलाई खेल मैदान निर्माण गरि फुटबलको विकासका लागि जग्गा दिन नगरपालिकालाई सिफारिस गरेका हुन् ।
उनले मैदान निर्माणको परियोजना अनुसार भौतिक निर्माणको काम अघि बढाउन स्थानीयको मन्जुरी रहेको भन्दै नगरपालिकालाई सम्झौताको प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन् ।
वडाका अधिकतम स्थानीय भेलाले क्लबलाई करिब २५ रोपनी जग्गा २५ बर्षका लागि निशुल्क प्रयोग गर्न दिने सहमती प्रदान गरेको छ ।
‘वडाको अनुमतीसंगै नगरपालिकासंग सम्झौता हुन बाँकी छ । त्यसपछि विस्तृत परियोजना रिपोर्ट तयार पारेर मैदान निर्माणको काम अघि बढ्नेछ ।’ अध्यक्ष पौडेलले भने ।
पौडेलका अनुसार मैदान तथा होस्टेल निर्माणका लागि एन्फासंग समेत सहयोगको अपिल गरिएको बताएका छन् ।
‘क्लब र फुटबललाई ब्यवसायीकरण गरेर अघि जानुपर्ने अवस्था छ । क्लबको आफ्नै मैदान नभएसम्म सम्भव हुदैन ।’ पौडेलले भने ।
मैदान नहुदाँ फ्रेन्ड्स क्लबले कुपण्डोलको ईन्जिनियरिङ कलेजको मैदानमा ट्रेनिङ गर्दै आएको थियो । यस बर्षमात्र लिगको दौरान समेत क्लबले दैनिक २५ सय रुपैयाँ तिरेर सो मैदानमा दैनिक २ घण्टा प्रशिक्षण गर्ने गरेको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी)को क्लब लाईसेन्स लिन एकेडेमी सहितको आफ्नै खेल मैदान लगायतका विभिन्न सर्त क्लबहरुले पालना गर्नुपर्ने हुन्छ ।