काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) असार १७ गतेबाट सदस्य सचिव विहिन छ । युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तबहादुर ढकाल कार्यवहाकको जिम्मेवारी दिएको छ ।
असार २२ गते जिम्मेवारी पाएका कार्यवहाक सदस्य सचिव ढकालले मन्त्रालयबाटै परिषद्को दैनिक कार्य सञ्चालन गरिरहेका छन् । राजनीतिक नियुक्ति हुने पदमा प्रशासनिक ब्यक्तिले खासै रुचि देखाउन नहुने ढकालको राय छ ।
खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव लगायत परिषद्का पदाधिकारी पद मुक्त भए । लगत्तै सदस्य सचिवको नियुक्ति प्रक्रिया सुरु भएर अन्तिम चरणमा समेत पुगेको छ । तर सत्तारुढ दलभित्रको आन्तरिक द्धन्दको प्रभाव सदस्य सचिव नियुक्तिमा देखिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गत बुधबार सदस्य सचिवको सिफारिसमा परेका तीन जनाको नाम मन्त्रीपरिषद्को कार्यसुचिमा राखेर दर्ता गराएको छ । निवर्तमान सदस्य सचिव रमेश सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापाकाे नाम सदस्य सचिवमा सिफारिस छ । भोलि पल्टै अर्थात गत बिहिबार बस्ने मन्त्रीपरिषद् बैठकले सदस्य सचिव नियुक्तिको निर्णय गर्ने धेरैको अनुमान थियो ।
तर नियमित रुपमा बस्ने मन्त्रीपरिषद् बैठक बिहिबार बस्न सकेन । सोही कारण सदस्य सचिव नियुक्तिको प्रक्रियाले अन्तिम रुप पाउन सकेन ।
‘दलभित्रको आन्तरिक रस्साकस्सीका कारण बिहिबारको मन्त्रीपरिषद् बैठक बस्न सकेन । सोही कारण सदस्य सचिव नियुक्तिमा ढिलाई भएको हो ।’ बालुवाटार स्रोतले खेलपाटीसंग भन्यो ।
नेकपाभित्रको आन्तरिक शक्तिसंघर्ष उत्कर्षमा छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुह प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वा पाटी अध्यक्ष मध्य एक पद छाड्न पर्ने भन्दै दबाब सिर्जना गरिरहेका छन् । तर प्रधानमन्त्री तत्काल दुवै पद नछाड्ने अडानमा छन् ।
दलभित्रको आन्तरिक शक्ति संघर्ष पेचिलो बन्दा गत बिहिबारको मन्त्रीपरिषद् बैठक बस्न सकेन । सोही कारण सदस्य सचिव नियुक्तिले बिहिबार मुर्तरुप पाउन सकेन ।
सोमबार र बिहिबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने गर्छ । एजेण्डा र कार्यसुचि नभएको अवस्थामा बैठक नबस्न पनि सक्छ वा प्रधानमन्त्रीले कुनैपनि समय मन्त्रीपरिषद्को आपतकालिन बैठक बोलाउन सक्छन् ।
खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार आसन्न सोमबार बस्ने मन्त्रीपरिषद्ले सदस्य सचिवको नियुक्तिको निर्णय गर्ने सम्भावना प्रवल छ । तर पाटी भित्रको आन्तरिक कारणले मन्त्रीपरिषद् बैठक प्रभावित बनेको खण्डमा नियुक्ति प्रक्रिया लम्बिन सक्छ ।
‘सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले सदस्य सचिवबारे निर्णय गर्ने सम्भावना प्रवल छ ।’ उनले भने ।
नयाँ ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो । मन्त्रालयले सचिव रामप्रसाद थपलिया नेतृत्वमा दुई बिज्ञ ईन्दिरा निरौला र रिम रानाभाटलाई राखेर सदस्य सचिव सिफारिस समिति गठन गरेको थियो ।
समितिले ७ दिनको खुल्ला दर्खास्त आह्वान गर्दै सदस्य सचिवका लागि कार्ययोजना सहित आवेदन माग गरेको थियो । सदस्य सचिवमा २७ जनाले आवेदन दिएका थिए । प्राप्त निवेदन र कार्ययोजनाको अध्ययन गर्दै समितिले तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको छ ।
आसन्न मन्त्रीपरिषद् बैठकले प्रस्तावित तीन मध्य एक जनालाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने सम्भावना छ ।