काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपको)को सदस्य सचिवमा निवेदन दिएका उम्मेदवारले विधि बाहिर गएर कर्मकाण्डी रुपमा सदस्य सचिवको सिफारिस गरिएको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले एक जना महिला सहित तीनको नाम सदस्य सचिवमा लैजाने निर्णय गरेसंगै सो पदमा दर्खास्त दिएका उम्मेदवारले विधि बाहिर गएर मन्त्रालयले कर्मकाण्डी रुपमा तीन जनालाई सिफारिस गरेको बताएका हुन् ।
नेकपा निकट खेलकुद महासंघका नेता मेघराज पौडेलले विधि बाहिर गएर सदस्य सचिवको सिफारिस गरिएको बताए ।
‘खुल्ला आवेदन माग गरिसकेपछि कम्तीमा छोटो सूचि तयार बनाएर अन्तरवार्ताको अवसर दिनुपर्दथ्यो । तर बाहिर कतै भएको विधि अपनाएर सदस्य सचिवको सिफारिस गरिएको छ ।’ उनले भने ।
पौडेलले मन्त्रालयले गठन गरेको सिफारिस समितिले कानुनको बर्खिलापमा रहेर तीन जनाको नाम सिफारिस गरिएको आरोप लगाए ।
‘राजनीतिक नियुक्ति भएपनि निवेदकले आफु किन सिफारिसमा परिन भन्ने थाहा पाउने अधिकार रहन्छ । कानुनको बर्खिलापमा रहेर दर्खास्त दिएका निवेदकलाई बाहिर राखिएको छ ।’ उनले थपे ।
सदस्य सचिव सिफारिसकालागि युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा खेलकुद बिज्ञ ईन्दिरा निरौला र रिम रानाभाट सदस्य रहेको समिति गठन गरेको थियो । समितिले सदस्य सचिव नियुक्तिको कार्यविधि बनाउँदै ७ दिने दर्खास्तको समय दिएर निवेदन माग गरेको थियो ।
सदस्य सचिव पदका लागि २७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका २७ जनाको कार्ययोजना अध्ययन गर्दै समितिले तीन जनाको नाम सदस्य सचिवका लागि सिफारिस गरेको छ । समितिले रमेश सिलवाल, लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठलाई सदस्य सचिवमा सिफारिस गरेको छ ।
सदस्य सचिवका लागि निवेदन दिएका उम्मेदवारले ‘सट लिस्ट’ समेत तयार नगरि, अन्तरवार्ताको अवसरनै नदिएर विधि बाहिर रहेर सदस्य सचिव सिफारिस गरिएको आरोप लगाएका छन् ।
नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले सदस्य सचिव नियुक्ति प्रक्रिया पारदर्शी नभएको बताए ।
‘पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्ति गर्ने प्रक्रियाले खुसी बनाएको थियो । तर सिफारिस प्रक्रिया पारदर्शी नहुँदा राम्रा मान्छेहरु बाहिरनै रहन पुगे जस्तो लाग्छ ।’ उनले भने ।
उनले नयाँ ऐन कार्यान्वयनमा आएपनि खेलकुदको पुरानै चरित्र सदस्य सचिव नियुक्ति प्रक्रियामा देखिएको बताए । ‘नयाँ ऐन आएर मात्र नहुदो रहेछ । अझैपनि खेलकुद पुरानै चरित्रबाट माथि उठ्न नखोेजेको देखियो ।’ उनले थपे ।
नयाँ खेलकुद विकास ऐनमा सदस्य सचिव सिफारिस समितिलाईनै नियुक्ति प्रक्रियाको कार्यविधि बनाउने अधिकार दिएको छ । तर सिफारिस समितिले खुल्ला दर्खास्त आह्वान गर्ने र कार्ययोजना हेरेर तीन जनाको नाम सिफारिस गर्ने ‘कर्मकाण्डी’ प्रक्रिया मात्र अपनाएको देखिन्छ ।
सिफारिस समितिले प्रस्ताव गरेको तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषद्को आगामी बैठकको कार्यसुचिको रुपमा दर्ता गरिसकेको छ । मन्त्रीपरिषद्को आसन्न बैठकले नयाँ सदस्य सचिवको नियुक्ति टुङ्गो लगाउनेछ ।