काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा तीन जनाको नाम सिफारिस भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्य सचिवमा रमेश सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापाको नाम सदस्य सचिवमा सिफारिस गरेको हो ।
मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलियाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा बिज्ञको रुपमा ईन्दिरा निरौला र रिम रानाभाट रहेका थिए ।
समितिले उम्मेदवारको कार्यपत्र अध्ययन गर्दै तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको हो ।
सिफारिस समितिले सदस्य सचिवका लागि असार २६ गते ७ दिने खुल्ला दर्खास्त आह्वान गरेको थियो । समितिले दिएको समयभित्र २७ जनाले निवेदन दिएका थिए । जसमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल समेत रहेका थिए ।
समितिले सिफारिस गरेका तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्को बिहिबारकाे बैठककाे एजेण्डाको रुपमा समावेश गरेको छ ।
सम्भवत बिहिबार बस्ने मन्त्रीपरिषद्को नियमित बैठकले सिफारिसमा परेका मध्य एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ ।
नयाँ खेलकुद विकास ऐनमा मन्त्रालयले गठन गरेको समितिले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ । सोही अनुसार सिफारिस समितिले तीन जना उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो ।
खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै राखेपका तत्कालिन पदाधिकारीको पद खारेज भएको थियो । लगत्तै मन्त्रालयले सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
यसअघि खेलकुद मन्त्रीले समेत सदस्य सचिव नियुक्त गर्न मिल्ने ब्यवस्था रहेको थियो । ऐनलाई संशोधन गर्दै राखेपको सदस्य सचिव मन्त्रीपरिषदबाट नियुक्त गर्ने नयाँ व्यवस्था गरेको छ ।