काठमाडौं । न्यु समिट कलेजले प्रथम त्रिभुवन विश्वविद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार भएको उपाधि भिडन्तमा टेक्सस कलेजलाई हराएर न्यु समिट च्याम्पियन बनेको हो । न्यु समिटले टेक्ससलाई ४४–४० ले हरायो । न्यु समिटको जितमा कप्तान सुशान्त घिमिरे र समिर तामाङले समान १४÷१४ स्कोर गरेका थिए । टेक्ससका संन्जित जंङ गुरुङले सर्वाधिक २० स्कोर गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।
उपाधिसंगै न्यु समिटले ३० हजार प्राप्त गरेको छ । उपविजेता बनेको टेक्ससले २० हजार नगद प्राप्त गर्यो । प्रतियोगिताको पुरस्कार वापतको ५० हजार जापानीज मूलका नेपाली नागरिक ताकासी मिहाराले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु समिटका समिर तामाङ घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यु समिट कै कप्तान सुशान्त घिमिरेले जिते ।
विजेता खेलाडीहरुलाई नेकपाका युवा नेता सभासद् महेश बस्नेत,राष्ट्रिय खेलकुद परिषद्का खेलकुद बिकास बिभागका प्रमुख कुलवहादुर थापा, आयोजक कलेजका प्रिन्सिपल प्रोफेसर डाक्टर शिवदत्त ज्ञवाली,कलेजका बिज्ञान तथा प्राविधिक शंकायका निर्देशक चोकराज दवाडी लगायतले पुरस्कृत गरेका थिए ।