काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐनको नियमावली बनाउन गठिन समितिले प्रारम्भिक मस्यौदा साउन १५ भित्र तयार गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल नेतृत्वको समितिले साउन १५ भित्र नियमावलीको प्रारम्भिक मस्यौदा तयार गर्ने गरि काम अघि बढाएको हो ।
खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आएसंगै युवा तथा खेलकुद मन्त्रालयले नियमावली बनाउन मन्त्रालयका खेलकुद महाशाखा प्रमुख रहेको ढकालको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका थियो ।
समितिमा ढकाल सहित खेलकुद मन्त्रालयका कानुनी शाखा प्रमुख, प्रशासन प्रमुख, आर्थिक प्रशासन प्रमुख, राखेप प्रतिनिधि, कानुन मन्त्रालयका प्रतिनिधि र एक बिज्ञ रहेका छन् ।
मन्त्रालयको बिज्ञको रुपमा राखेपका पूर्व कर्मचारी रिम रानाभाटलाई नियुक्त गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको समितिको बैठकले मस्यौदाको प्रतिवेदन तयार गर्न कानुनबारे जानकार तीन जना उप–सचिवलाई जिम्मेवारी दिएको छ । समितिले खेलकुद मन्त्रालय, कानुन मन्त्रालय र राखेपका कानुन हेर्ने उप-सचिवलाई मस्यौदाको प्रारम्भिक प्रतिवेदन बनाउने जिम्मेवारी दिएको हो ।
बैठकले राखेप, खेल संघ र महासंघकोतर्फबाट सुझाव संकलन गर्ने जिम्मेवारी रिम रानाभाट सहितको टोलीलाई दिएको छ ।
‘नियमावली बनाउन कार्ययोजना बनाएका छौ । त्यही अनुसार अघि बढ्दै जाने हो ।’ समितिका संयोजक ढकालले खेलपाटीसंग भने ।
‘साउनको १५ गतेभित्र प्रारम्भिक सुझाव प्रतिवेदन तयार गर्ने र त्यसपछि मुख्य सरोकारवालासंग अन्तिम छलफल गरेर अघि बढ्ने योजना छ ।’ उनले भने ।
ऐनमा तोकेको बिषयमा केन्द्रित रहेर समितिले नियमावली तयार गर्नेछ । नियमावली तयार गर्ने क्रममा समितिले विभिन्न सरोकारवाला निकायसंग छलफल समेत गर्नेछ ।
खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्दै नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएको छ । नयाँ ऐन लागु भएसंगै राखेपमा सदस्य सचिवको नयाँ नियुक्ति प्रक्रिया अघि बढेको छ ।