काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
'कोरोना भाईरसको महामारीको लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त भएकोले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकोले प्रतियोगिता रद्द गरिएको जानकारी गराउदछौँ,' प्रतियोगिता संयोजक सन्जिब तुलाधर जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा आयोजनामा हुने प्रतियोगिता यस अघि चैत १८ देखि २२ गतेसम्म हुने बताईएको थियो ।
तर, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्ये नजर गर्दै आयोजकले फागुनमा तत्कालको लागि प्रतियोगिता स्थगित गरेको थियो ।
प्रतियोगिताको लागि आयोजकले विभिन्न प्रदेशको छनोट सम्पन्न गरिसकेको थियो । प्रदेश-१, प्रदेश-२ र बाग्मती प्रदेशको छनोट सकिसकेको थियो ।
प्रतियोगिता काठमाडौंको बसन्तपुर डबलीमा हुने तय भएको थियो ।
प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताईएको थियो ।
यस्तै प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने जनाएको थियो ।