काठमाडौं । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रशिक्षकहरुलाई पनि पुरस्कृत गर्न माग गरेको छ ।
संघले आइतबार एक विज्ञप्ति निकाल्दै खेलाडीलाई सम्मान गर्दा प्रशिक्षकलाई समेत पुरस्कृत गर्न स्थानीय सरकारसँग माग गरेको हो ।
खेलाडीलाई पदक जित्न योग्य बनाउन प्रशिक्षकले गरेको योगदानलाई हौशला बढाउँन खेल प्रशिक्षकलाई समेत सम्मान गर्नु पर्ने संघले जनाएको छ ।
यस्तै संघले नेपाल सरकारबाट समेत खेलाडी र प्रशिक्षक दुबैलाई सम्मान गरेको हुँदा स्थानीय सरकारले खेलाडी सम्मान गर्दा प्रशिक्षकलाई पनि सम्मान गर्न माग गरेको छ ।
'प्रतिभावान खेलाडी उत्पादन गरी राज्यलाई ऐतिहासिक पदक दिलाउन योगदान गर्ने प्रशिक्षकहरुलाई पनि हौसला प्रदान गर्दै खेलाडी सँगसँगै सम्मान तथा पुरस्कृत गरेर हौसला प्रदान गरीदिनु हुनकर्मचारी संघ प्रदेश तथा स्थानीय सरकारसँग माग गर्दछ,' अध्यक्ष रंजन थापाको हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ ।
गत साता प्रदेश १ सरकारले सागमा पदक जित्न सफल प्रदेश नम्बर १ का खेलाडीलाई पुरस्कृत गरेको थियो । तर, खेलाडी सम्मान गर्दा प्रशिक्षकलाई भने सम्मान गरिएको थिएन् ।
त्यसपछि प्रदेश १ का प्रशिक्षकहरुले असन्तुष्टि जनाएका थिए । प्रादेशिक सरकारले निरुत्साहित बनाएको उनीहरुले गुनासो गरेका थिए ।