काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यवहाक सदस्य सचिव भक्तबहादुर ढकालले परिषद्को वार्षिक कार्य योजना बनाउन निर्देशन दिएका छन् ।
शुक्रबार विभागीय प्रमुख र शाखा प्रमुखसंगको बैठकमा सदस्य सचिव ढकालले विनियोजित बजेटका आधारमा परिषद्को वार्षिक कार्य योजना तयार पार्न निर्देशन दिएका हुन् ।
बैठकमा सदस्य सचिव ढकालले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तयार गर्न र नयाँ आर्थिक वर्षको कार्य योजना बनाउन निर्देशन दिएका हुन् ।
बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र नयाँ आर्थिक वर्षको कार्य योजना बनाउन प्रशासन विभागका प्रमुख कुलबहादुर थापा संयोजकत्वको कमिटि गठन गरेको छ ।
यस्तै, गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तयार गर्न आर्थिक विभाग प्रमुख ऋषीराम पोखरेल संयोजकत्वको कमिटि गठन गरेको छ । बैठकले गत आर्थिक बर्ष परिषद्ले खरिद गरेका सामान निरिक्षणको जिम्मेवारी मधुुसुदन बस्नेतलाई दिएको छ ।
नयाँ खेलकुद विकास ऐन २०७७ मा परिषद्ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आर्थिक सहित वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले परिषद्बाट प्राप्त प्रतिवेदन परिषद् संरक्षकको रुपमा प्रधानमन्त्रीलाई हस्तान्तरण गरेर सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ ।
‘कार्यवहाक सदस्य सचिवले नयाँ ऐन अनुसार आर्थिक प्रतिवेदन बनाउने जिम्मेवारी आर्थिक विभागलाई र वर्षभरीको प्रगति विवरण बनाउने जिम्मेवारी प्रशासन विभाग प्रमुखलाई निर्देशन दिनुभएको छ ।’ राखेप प्रवक्ता कुलबहादुर थापाले खेलपाटीसंग भने ।